नगर प्रहरी चौकी कोलनीले पछिल्लो ३ महिनामा ९ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाकै विभिन्न स्थान र काठमाडौंबाट हराएका ९ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाइएको नगर प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक राजु लामिछानेले जानकारी दिए ।
उनका अनुसार ८ थान मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ भने एक थान धनी यकिन हुन नसक्दा प्रहरी चौकीमा थन्किएको छ । प्रहरी कार्यालयले नियन्त्रणमा लिएका मोटरसाइकलमध्ये अधिकांश काठमाडौंबाट र केही चाहिँ जिल्लाकै सहरी क्षेत्रबाट चोरी भएका हुन् ।
चोरीमा संलग्न रहेको आशङ्कामा चोरीका मोटरसाइकलसहित दुई व्यक्तिलाई पक्राउ समेत गरिएको प्रहरी इञ्चार्ज लामिछानेले बताए । ती व्यक्ति चोरीको मोटरसाइकलमा सवार रहेकै अवस्थामा समातिएका थिए । ‘चोरीका मोटरसाइकलमध्ये अधिकांश नम्बर र रङ परिवर्तन गरेर चलाइएको अवस्थामा बरामद गरिएका छन्,’ उनले भने– ‘सम्बन्धित धनी र स्थानीयवासीले सहयोग पु¥याएमा चोरी नियन्त्रण र अपराधमा न्यूनीकरण सफलता मिल्नेछ ।’
सीमा जोडिएको र ग्रामीण क्षेत्रमा लुकीछिपी चलाउन सहज हुने हँुदा काठमाडौंमा हराएका धेरै मोटरसाइकलको गन्तव्य नुवाकोट हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । केही समयअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जिल्लाका सुरक्षाकर्मीको सहयोगमा सञ्चालन गरेको तीनदिने ‘सर्च अपरेसन’ मा चोरीका १८ थान मोटरसाइकल नियन्त्रणमा लिइएको खबर राससले प्रेषित गरेको छ ।