newskoseli.Com

‘झाँक्री हत्या गर्ने’ २६ जनालाई कैद, ४ महिलालाई सफाइ

गङ्गाजमुना गाउँपालिका– २, लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिएको हो । ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भीमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताए ।

यसैगरी, ३८ वर्षीय ज्ञानबहादुर भन्ने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही ५ वर्ष ६ महिना कैद गर्ने फैसला गरिएको छ ।

१७ वर्षीय वुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ र १७ वर्षीय चन्द्रमान तामाङ बालक भएकाले ५ वर्ष कैद हुनेमा दुईतिहाइ अर्थात् ३ वर्ष ८ महिना मात्र कैद गर्ने फैसला गरिएको छ । ५६ वर्षीय बलबहादुर तामाङले कटुवाल कराई झाँक्रीहरु मार्नका लागि सहयोग पुर्‍याएकाले उनलाई मतियारका रूपमा ३ वर्ष ६ महिना कैद गर्ने फैसला सुनाइएको छ ।

साधारण तारेखमा रहेका सुशीला तामाङ, असारमाया तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै सफाइ दिइएको छ । ४ महिला साधारण तारेखमा रिहा भएका थिए भने २६ जना पुर्पक्षका लागि थुनामा थिए ।

गाउँमा झाँक्री लागेर गाउँवासीलाई दुःख दिएको आरोपमा ५ साउन, २०७५ मा गाउँवासीको कुटपिटका कारण गङ्गाजमुना गाउँपालिका– २, लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको मृत्यु भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर