प्रहरीले अवैध हातहतियारसहित २ सय ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले चालू आर्थिक वर्षमा देशभरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २ सय ३६ पुरुष र ६ महिला तथा १७ विदेशी नागरिक समेत रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एलएमजी राइफल १ थान, प्वाइन्ट टु–टु राइफल १ थान, एसएमजी २ थान, एम–सिक्स्टिन ए–टु राइफल १ थान, पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान, रिभल्बर ३ थान र भरुवा बन्दुक १ सय १८ थान गरी जम्मा २ सय १४ थान हतियार बरामद गरिएका छन् । पक्राउ परेकाहरुको साथबाट ६ सय ८० राउन्ड गोली समेत बरामद भएको छ ।
अवैध हातहतियार ओसारपसार गर्ने १ सय ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिएका छन् । ‘ठूलो परिणाममा आधुनिक हतियार बरामद हुनुमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमले ठूलो सहयोग पुगेको छ’– उनले भने । बरामद भएका हतियारमध्ये पेस्तोल र रिभल्बरका साथै नेपालमै बनेका कटुवा पेस्तोल बढी रहेका छन् ।
अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरि नै विशेष अभियान चलाएको प्रवक्ता पोखरेलले बताएको खबर राससले प्रेषित गरेको छ ।