newskoseli.Com

फेरि ३ दिन मेघगर्जन र हावाहुरीसहित वर्षा हुने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा न्यूनचापीय प्रणालीले प्रभाव पारिरहेको छ । प्रि–मनसुनको समय भएकाले यो गतिविधि लामो समयसम्म कायम रहन सक्दैन ।

राति देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार देशका अधिकांश स्थानमा आंशिक बदली रही अपराह्नपछि पश्चिमी र मध्य भूभागका एक–दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशका पूर्वी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस छ । शुक्रबार सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर