
पुनर्वास नगरपालिका– ११, कञ्चनपुरका वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयवासीले शुक्रबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् ।
पुनर्वासको डोकेबजार प्रहरी चौकीमा विवाद मिलाउने क्रममा प्रहरीले बिहीबार राति वडाध्यक्ष तुलसी अर्यालमाथि कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका अर्यालको टाउकामा चोट लागेको छ । उपचारका लागि उनलाई धनगढी लगिएको छ ।
वडाध्यक्षमाथि कुटपिट भएपछि स्थानीयवासीले डोकेबजार चौकीमाथि तोडफोड गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रहरी अधिकृतको निर्देशनमा आफ्नो जनप्रतिनिधि कुटिएको भन्दै स्थानीयले डोकेबजार–बेलौरी हुलाकी सडक ठप्प पार्नुका साथै स्थानीय बजार समेत बन्द गराएका छन् ।
गाउँमा युवायुवतीको विवाद मिलाउने क्रममा रोहबर बस्न वडाध्यक्ष अर्याललाई राति चौकीमा बोलाइएको थियो । स्थानीयवासीको तोडफोड र प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । विवाद साम्य पार्ने विषयमा स्थानीय प्रशासनले छलफल गरिरहेको जानकारी इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीले दिएको खबर राससले प्रेषित गरेको छ ।
तस्बिरः फाइल फोटो