पश्चिमी वायुको प्रभावका कारण बुधबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताए । उनका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन । केही दिन निरन्तर वर्षा र केही दिन चर्काे घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने मौसमविद् सुवेदीले बताए ।
उनका अनुसार मनसुन न्यूनचापीय रेखा माथितिर (नेपालको भू–भागमा) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने र मनसुन न्यूनचापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा वर्षा कम भई घाम लाग्ने हुन्छ । राति देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्यपहाडी भू–भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशका पूर्वी तथा मध्यभागहरुमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही र पश्चिम पहाडी भेगका केही स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ७ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै, बुधबार सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेकाे छ ।