newskoseli.Com

८ वर्षीय बालकको अपहरण गरी हत्या : गोली चलाएर प्रहरीले पक्रियो ३ जना

बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले बुधबार तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– ३, प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका भारत बिहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका– ११ निवासी सिकेन्द्र साह र बाराकै खपरताता बस्ने विनेश महतोलाई बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।

घरअगाडि खेलिरहेको अवस्थामा जेठ १० गते करणलाई अपहरण गरी उनका पितासँग ३० लाख रुपैयाँ फिरौती माग्दै आएको र फिरौती पाउन ढिलो भएपछि बालकको हत्या समेत गरेको अभियोगमा तीनै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी विकास र सिकेन्द्र घाइते भएको उनले बताए ।

अपहरणकारीले दिएको सूचनाका आधारमा कलैया उपमहानगरपालिका– २५ मा पर्ने खौराही खोलामा बालकको शव खोजतलास गर्ने क्रममा विकास र सिकेन्द्र भागेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जानकारी उपरीक्षक ढकालले दिए । घाइते दुवैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

खोराही खोलाबाट बरामद गरिएको करणको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ । पक्राउ परेका तीनै जनामाथि अपहरण र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर