newskoseli.Com

जंगलको आगो निभाउन खोज्दा महिलाको मृत्यु, नदीमा भेटियो अर्को शव

डोटीको जोरायल गाउँपालिका– ३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सो गाउँपालिका– ३, सुनिखोला बस्ने ३५–३६ वर्षकी दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो ।

गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उनी आगोमा परी जलेकी हुन् । आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गएको एक महिना यतादेखि डोटीको जङ्गलमा भीषण आगलागी भैरहेको छ । आगलागी नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीका कारण यहाँका विभिन्न सामुदायिक तथा कबुलियती वन गरी करिव ७ सय ८० हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुरेशचन्द्र डीसीले जानकारी दिए ।

सेती नदीमा भेटियो अर्को शव

डोटीकै सेती नदीमा एक अर्को शव फेला परेको छ । शिखर नगरपालिकाको प्रसिद्ध धार्मिक क्षेत्र भागेश्वर नजिकै हालै निर्माण भएको झोलुङ्गे पुलनजिकै नदीमा शव फेला परेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिएका छन् ।

शवको पहिचान भइनसकेको भए पनि जेठ ३ गते शुक्रबार सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका केआईसिंह गाउँपालिका– ५, रानागाउँका शिक्षक योगबहादुर रावलको शव हुन सक्ने प्रहरी उपरीक्षक माझीले बताए । उनले भने– ‘शव भेटिएको छ, चिन्न सकिने अवस्थामा छैन तर शिक्षक योगबहादुर रावलको हुन सक्ने अनुमान हामीले गरेका छौं ।’

रानागाउँस्थित सरस्वती माध्यमिक विद्यालयका नेपाली शिक्षक रावल सेती नदीमा नुहाउने क्रममा जेठ ३ देखि बगेर बेपत्ता भएका थिए । रावल बगेर बेपत्ता भएको करिव १२ दिनपछि उनी बगेको ठाउँभन्दा करिव चार–पाँच मिटर तल उक्त शव भेटिएकाले शव रावलकै हुन सक्ने प्रहरीको अनुमान रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर