newskoseli.Com

अन्धविश्वासमा दिइयो मान्छेको ‘बलि’, प्रहरीले पक्रियो हत्यारा

‘धामीझाँक्री’ को काममा दख्खल बढाई आफू ‘शक्तिशाली’ बन्ने अन्धविश्वासमा परेर ‘देवीदेवता’ को नाममा ‘नरबलि’ का रूपमा एक बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मिथिला नगरपालिका– ६, धनुषाका फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो पक्राउ परेका हुन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

महतोले वैशाख २३ गते बेलुकी ५ बजे मिथिला नगरपालिका– ६ का शम्भुकुमार साहका साढे दुई वर्षीय छोरा आर्यन भन्ने समीरकुमार साहलाई आफ्नो घरको ढोकामा फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरी आफ्नो घरमा बन्धक बनाएर राखी भोलिपल्ट (वैशाख २४ गते) बिहान ‘चमेनिया माय’ भन्ने ‘देवता’ का नाममा ‘नरबलि’ का रूपमा नियतपूर्वक धारिलो हतियारले बालकको घाँटी रेटी आफ्नै घर आँगनमा मारेको प्रहरीले जनाएको छ ।

बालकको हत्यापछि महतोले शवलाई बालककै घर पछाडि रहेको कृष्णनन्दन महतोको रूखबिरूवा सहितको खेतको झाडीमा फालेको रहस्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महतोले विगत दुई वर्षदेखि ‘धामीझाँक्री कला’ सिक्दै आएका थिए । बेला–बेलामा बालक समीरलाई झारफुक गर्दै आएका कारण बालकलाई फकाउन महतोलाई सजिलो भएको बताइएको छ ।

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी बालकलाई फकाई अपहरण गरेर बन्धक बनाइएको थियो । महतोका नाममा अपहरण गरेर शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसुरमा मृतकका हजुरबा पीताम्बर साहले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा महतोलाई बुधबार आफ्नै घरमा फेला पारी कानुनबमोजिम पक्राउ गरिएको प्रहरीले बताएको छ ।

महतोले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार एक थान, घटना वारदातको बखत लगाएको गञ्जी एक थान, गम्छा एक थान र धोती एक थान बरामद गरिएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर