इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. ले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यावहारिक अनुभव तथा व्यावसायिकताको ज्ञान दिन पहिलो पटक ‘नेसनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता, २०१९’ आयोजना गरेको छ ।
प्रतियोगितामा काठमाडौंबाट ८ वटा तथा काठमाडौं बाहिरबाट १२ वटा गरी २० वटा कलेजहरु सहभागी रहेका छन् । सहभागी अधिकांश विद्यार्थीहरु स्नातक तथा स्नातकोत्तर अध्ययनरत छन् । प्रतियोगिता १ जुन, २०१९ मा सुरु भई ३० जुनसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिङ तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनीतिहरु बनाउनु पर्ने हुन्छ । सोही रणनीतिहरु प्रतियोगिताको निर्णायकमण्डल सामु प्रस्तुत गर्नुपर्ने कार्यक्रम छ । सहभागीहरुलाई ख्याति प्राप्त विभिन्न व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा दुईदिने तालिम प्रदान गरिने छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कलेजलाई पुरस्कारस्वरुप २ लाख ५० हजार रुपैयाँ र दास्रो स्थान प्राप्त गर्ने कलेजलाई १ लाख रुपैयाँ तथा तेस्रो स्थान प्राप्त गर्ने कलेजलाई ७५ हजार रुपैयाँ प्रदान गरिने वर्ल्डलिंकले जनाएको छ ।