‘प्रि मनसुन’ सक्रिय भएकाले गर्दा काठमाडौं उपत्यकासहित देशभर अझै केही दिन आंशिक तथा सामान्य वर्षा भैरहनुका साथै मेघगर्जन र हावाहुरीसहित ठूलै वर्षा समेतको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिन देशभर मौसममा सुधार नहुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए । उनका अनुसार अझै तीन–चार दिन अपराह्न तथा साँझपख हावाहुरी र मेघगर्जनसहित वर्षा हुनेछ । तराई क्षेत्रमा भने यसको कुनै असर परेको छैन ।
जलवाष्पयुक्त हावा वायुमण्डलको माथिल्लो सतहमा रहेसम्म पानी पर्न थाल्छ तर हालसम्म यो प्रणाली सुरु भएको छैन । सामान्यतः नेपालमा मनसुन सुरु हुने समय जुन १० भए तापनि यस वर्ष भने एक साता ढिलो गरी मनसुन सुरु हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । गत वर्ष जुन ८ मा मनसुन सुरु भएको थियो ।
सोमबार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पश्चिमी र मध्य भूभागका केही स्थान तथा पूर्वी भागका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार देशभर आंशिक तथा सामान्य बदली हुनुका साथै पश्चिम पहाडी भागका केही स्थान र मध्य तथा पूर्वी भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । बुधबार पनि देशभर आंशिक तथा सामान्य बदली रही पश्चिमी पहाडी भागका केही स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस र अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस छ । सबैभन्दा धेरै धनगढीको तापक्रम अधिकतम ४१ दशमलव शून्य डिग्री सेल्सियस पुगेको खबर राससले प्रेषित गरेको छ ।