newskoseli.Com

हातेपम्प सुकेपछि खानेपानीको अभाव

शुक्लाफाँटा नगरपालिका–७, चुरेफेदीका बासिन्दालाई खानेपानीको अभाव हुन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा ‘हातेपम्प’ सुकेपछि स्थानीय बासिन्दालाई खानेपानीको अभाव भएको हो ।

दुई महीना अघिदेखि नै हातेपम्प सुक्न थालेर जेठ महीनाको पहिलो सातादेखि हातेपम्पबाट पानी आउन छाडेपछि स्थानीय बासिन्दाले वातावरण सामुदायिक वनले गाडेको बोरिङबाट पानी थाप्ने गरेका छन् ।

‘सामुदायिक वनको बोरिङमा पनि थोरै पानी छ,’ स्थानीय नरेन्द्रबहादुर धानुकले भन्नुभयो, ‘खानेपानी, बस्तुभाउलाई पानी खुवाउने र धानको बीउमा १७ परिवारले सोही पानीको प्रयोग गर्नु पर्दा निकै सास्ती खेप्नुपरेको छ ।’ गाँउका बासिन्दाले दुई दशकअघि जमीनबाट पाँच फिट तल पम्पसेट, त्यसको १० फिट तल जमीन मुनि पङ्खा राखेर सिँचाइ र खानेपानीका लागि पम्पसेट जडान गरेका भएपनि खडेरीका कारण त्यो पनि सुकेपछि पानीका लागि टाढा जानुपर्ने बाध्यता आइलागेको उनले बताए ।

घरमा पालेका बस्तुभाउलाई पानी खुवाउन र लुगा धुनका लागि विगतमा स्थानीय बासिन्दाले नजिकै स्याली नदीको पानी उपयोग गर्दै आएका थिए । जङ्गली जनावर वस्तीमा छिर्नबाट रोक्न र जैविक विविधता संरक्षणका लागि सामुदायिक वनले तारजाली लगाइ दिएपछि यस क्षेत्रका बासिन्दा नदीको पानी उपभोग गर्नबाट समेत बञ्चित भएका छन् ।

दुई दशकअघि जडान गरेको पम्पसेट मर्मतका लागि वडा कार्यालय र नगरपालिकासँग बजेट माग गर्दासमेत सुनवाइ हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । निजी लगानीमा हातेपम्प गाडनसमेत रु एक लाख ५० हजार बढी रकम लाग्ने भएकाले सबै परिवारले खर्च उठाउन सक्ने अवस्था नभएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर