बेरोजगारमा युवालाई परिचालन गरी सामुदायिक वन तथा उपयोगविहीन खाली कृषियोग्य निजी जमीनको उपयोग गरी रोजगारी सिर्जना गर्न प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च नेपालले ‘हरित रोजगार कार्यक्रम’को घोषणा गरेको छ ।
मञ्चले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष सुनिलकुमार परियारले सरकार, स्थानीय निकाय, सामुदायिक वन तथा जग्गाधनीसँग छलफल र समन्वय गरी उक्त कार्यक्रम बूढानीलकण्ठबाट शुरु गरिएको जानकारी दिए ।
बूढानीलकण्ठ नगरपालिका–५मा केन्द्रित भई सञ्चालन गरिएको सो कार्यक्रममार्फत शिवपुरीकोे खेतीयोग्य ३० हेक्टर जमीनमा नासपाती, अनारलगायतका फलफूल खेती छ । यसबाट २५ जनासम्म गरीब, विपन्न परिवारले रोजगार प्राप्त गरेको उनले जानकारी दिए ।
नेपालमा हाल २२ हजार सामुदायिक वन रहेको तथा त्यसमा ४५ हजार उपभोक्ता समूह सक्रिय रहेकाले त्यस क्षेत्रलाई उत्पादनमूलक कार्यमा लगाउन सकिएमा चार लाख व्यक्तिले रोजगारी पाउन सक्ने बताइएको छ । तीन वर्षअघि शुरु गरेको सो कार्यक्रम हाल कास्की र नवलपरासीमा पनि सञ्चालन गरिएको खबर राससले प्रेषित गरेको छ ।