newskoseli.Com

७ महिनादेखि तलब रोकियो : मेलम्चीको काम ठप्प पार्ने चेतावनी

मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेको ६ महिना बितिसक्दा पनि स्थानीय मजदुर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष समिति थप आक्रोशित बनेको छ ।

समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ठेकेदार र मजदुरको रकम भुक्तानी नभई आयोजनास्थलमा जो कोही नयाँ ठेकेदार काम गर्न आए जस्तालाई त्यस्तै शैलीमा जवाफ दिने र जुनसुकै अप्रिय परिणाममा स्वयं व्यक्ति वा संस्था जिम्मेवार हुने समेत चेतावनी दिएको छ ।

इटालियन ठेकेदार कम्पनी सीएमसीले आयोजनाको काम छाडेर गएपछि फागुनमा पनि आयोजनाका मजदुर, कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका थिए । आयोजनाका कर्मचारीले दुईदेखि सात महिनासम्मको तलब पाएका छैनन् भने स्थानीय आपूर्तिकर्ताले पनि झन्डै १७ करोड रूपैयाँ नपाएको आयोजना पीडित स्थानीय सङ्घर्ष समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताए ।

आयोजनाको सुरुङलगायतका संरचना निर्माणको जिम्मा लिएको सीएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् । सीएमसीले आयोजनाको काममा लगाएका झन्डै ७ सय स्थानीय मजदुरले कम्पनीसँग २ देखि ७ महिनासम्मको भुक्तानी लिन बाँकी छ । आफूहरूको पारिश्रमिक दिलाउने जिम्मा मेलम्ची आयोजनाको भएको मजदुरले बताएका छन् । आयोजनाले आफूहरूको पारिश्रमिक नदिई अर्को ठेकेदार छनोट गरी काम गरेमा आयोजना अघि बढ्न नदिने चेतावनी उनीहरूले दिएका छन् ।

आयोजनाको काममा निर्माण सामग्री निर्यात गर्ने आपूर्तिकर्ता पनि मारमा परेका छन् । ठेकेदार कम्पनीले स्थानीय ‘सप्लायर्स’ र ‘भेन्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी) लाई मात्र १६ करोड ५० लाख ३८ हजार ५ सय रूपैयाँ भुक्तानी दिन बाँकी रहेको आपूर्तिकर्ताले बताएका छन् । १२ सप्लायर्स तथा भेन्डर्स कम्पनीले ठेकेदारसँग उक्त रकम भुक्तानी लिन बाँकी रहेको सङ्घर्ष समितिले जनाएको छ ।

नेपाल सरकारले मन्त्रिपरिषदस्तरीय निर्णय गरी आयोजनाको बाँकी काम पूरा गर्न नयाँ बेलपत्र आह्वान गर्ने र स्थानीय तथा स्वदेशी निर्माण कम्पनी मात्र सहभागी हुन पाउने सूचनाका आधारमा जेठ १७ मा मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा भएको अन्तर्क्रिया कार्यक्रममा आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले दिएकाे स्थानीय सप्लायर्स तथा भेन्डर्सहरूको बक्यौता रकम दिन नसकिने आशयको जवाफले गहिरो चोट पुगेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले भुक्तानी गर्नुपर्ने मजदुर, आपूर्तिकर्तालगायतको रकम मेलम्ची आयोजना वा सरकारले उपलब्ध गराउनुपर्ने पीडितको माग छ । आफूहरूले पाउनुपर्ने रकम उपलब्ध नगराए आयोजनाको ‘साइट’ मा कुनै पनि काम हुन नदिने चेतावनी उनीहरूले दिएका छन् । चिनियाँ ठेकेदार कम्पनीले ठेक्का रद्द गरेपछि आएको सीएमसीले सुरुङको फिनिसिङ र हेडवर्क्सको काम बाँकी रहँदा पुस २ मा ठेक्का छाडेर हिँडेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर