नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४ कार्यकर्तालाई बिहीबार कारागार चलान गरिएको छ । जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेको भन्दै उनीहरुलाई कारागार पठाइएको जानकारी श्रेस्तेदार नन्दप्रसाद आचार्यले दिएका छन् ।
उनीहरुमाथि नक्कली बम बनाएर आतङ्क मच्चाएको, एनसेल टावरमा आक्रमण गरेको र चन्दा असुलेको आरोप लगाइएको छ । चारै जनासँग प्रतिव्यक्ति ४ लाख २० हजार रूपैयाँका दरले धरौटी माग गरिएको र सो रकम बुझाउन नसक्दा उनीहरुलाई थुनुवा पुर्जी दिएर कारागार चलालन गरिएको आचार्यले बताए ।
विप्लव नेकपाका जिल्ला इन्चार्ज रहेका पोखरा महानगरपालिका– २७ का ३३ वर्षीय गोकुल पराजुली, पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका– १ का २९ वर्षीय गोविन्द ओली, वालिङ नगरपालिका– २ की ५० वर्षीया मिसिरा नेपाली र भीरकोट नगरपालिका– २ का ४७ वर्षीय सागर अर्याल कारागार चलान गरिएका हुन् ।
फागुन १० मा वालिङ नगरपालिका– १२ स्थित एनसेल टावरमा आक्रमण गरेको तथा फागुन ३० मा पुतलीबजार नगरपालिका– ४, भालुपहाडमा बम राखेको आरोप उनीहरुमाथि लगाइएको खबर राससले प्रेषित गरेको छ ।