
नेपाली राजनीतिमा कतिपयले ‘युगपुरुष’ समेत भन्ने गरेका गिरिजाप्रसाद कोइरालाबारे तयार पारिएको वृत्तचित्र ‘प्रजातन्त्रका लागि अपहरण’ प्रदर्शन गरिने भएको छ ।
रफत सञ्चार क्लबमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कोइरालाको राजनीतिक यात्रामा भएका गतिविधिहरुका साथै वि.सं. २०३० मा भएको विमान अपहरणबारे जानकारी दिने उद्देश्यका साथ तयार पारिएको वृत्तचित्र जेठ २६ मा बाराही मूभिजमा प्रदर्शन गरिने जानकारी दियो ।
वृत्तचित्र प्रदर्शन गिरिजाप्रसाद कोइराला फाउन्डेसन भक्तपुरले गर्ने भएको फाउन्डेसनका अध्यक्ष विदुरमानसिंह बस्नेतले जानकारी दिए । ‘प्रजातन्त्र’ स्थापना गर्दा कस्ता खालका राजनीतिक गतिविधि भए र नेपाली राजनीतिका ‘युगपुरुष’ को राजनीतिक जीवन कस्तो थियो भन्ने नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले वृत्तचित्र प्रदर्शन गरिने भएको नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं युवानेता विनोदप्रकाश कायस्थले बताएको खबर राससले प्रेषित गरेको छ ।