सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासङ्घले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले वैशाख २९ देखि जेठ २५ सम्म दुई चरणमा गरिएको आन्दोलन पूर्ण रूपमा सफल भएको निष्कर्ष निकाल्दै विधेयक फिर्ताको माग अझ प्रभावकारी बनाउन असार ३ देखि तेस्रो चरणको आन्दोलन अघि बढाउने घोषणा गरेको जानकारी महासङ्घका महासचिव रमेश विष्टले दिएका छन् ।
असार ३ मा प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर सङ्कलन अभियान गर्ने, सङ्कलित हस्ताक्षर असार ६ मा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने, असार १० मा मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शनी गर्ने, असार १५ मा सबै जिल्ला शाखाले आ–आफ्नो क्षेत्रबाट निर्वाचित सङ्घीय र प्रदेश सांसदलाई सन्देश पठाएर ध्यानाकर्षण गर्ने कार्यक्रम बैठकले तय गरेको छ ।
असार २० मा वृहत ‘प्रेस स्वतन्त्रता सभा’ को आयोजना गर्ने, असार २५ मा मध्याह्न १२ बजे लालटिन जुलुस निकाल्ने र असार ३० मा देशव्यापी सिट्टी जुलुस र सभा गर्ने कार्यक्रम महासंघले तय गरेको छ । मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अविलम्ब फिर्ता लिन महासङ्घको बैठकले सरकारसँग पुनः जोडदार माग समेत गरेको खबर राससले प्रेषित गरेको छ ।