सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवापुस्ताका एक प्रभावशाली नेता एवं पूर्वशिक्षामन्त्री धनीराम (डीआर) पौडेलको शुक्रबार बिहान अकस्मात निधन भएको छ ।
हृदयाघातका कारण माडीमा उनको निधन भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे पौडेलको निधन भएको हो । माडी नगरपालिका– ५, रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि उनलाई बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो ।
अस्पताल पुर्याउनासाथ चिकित्सकहरुले उनको निधन भएको जानकारी दिएका हुन् । पौडेल संविधानसभाका सदस्य समेत थिए । हाल पार्टीको केन्द्रीय सदस्य रहेका पौडेल तत्कालीन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष समेत थिए । पौडेल लेखक एवं पूर्वपत्रकार समेत हुन् । उनकी श्रीमती गङ्गा बेलवासे पनि पार्टीको केन्द्रीय सदस्य नै छिन् । उनका दुई छोरी छन् ।