भारतीय सीमा नाका जमुनाहबाट २० लाख रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता पक्राउ परेको सापकोटाले जनाएका छन् । बरामद भएको रकम कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको भन्ने नखुलेको उनले बताए । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी प्रहरी नायब उपरीक्षक सापकोटाले दिए ।
नालामा डुबेर एकको मृत्यु
यसैगरी, बाँकेको कोहलपुरस्थित डुडुवानालामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु भएको छ । शनिबार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २८ वर्षीय मुक्तिप्रसाद आचार्यको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार, कोहलपुर नगरपालिका– १२, चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा आचार्य बेपत्ता भएका हुन् । डुबेलगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटे पनि जीवितै उद्धार गर्न नसकिएको सिंहले जानकारी दिए ।
यो नालामा पौडी खेल्ने व्यक्तिको प्रत्येक वर्ष डुबेर मृत्यु हुँदै आएको छ । पानी कम भएका कारण नालाको माथिबाट पौडिन हामफाल्दा नालाको जमिनमा हिलोमा फसेर मान्छे डुब्ने गरेको स्थानीयवासी सूर्य ढकालले बताएको खबर राससले प्रेषित गरेको छ ।