newskoseli.Com

तापक्रम ३८ डिग्री माथि : गर्मीका कारण विद्यालय बन्द

अत्यधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएका छन् । महानगरपालिकाभित्रका विद्यालय असार २ देखि तीन दिनका लागि बन्द गरिएका हुन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको हो । बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी महानगर प्रमुख रेनु दाहालले दिइन् । चितवनमा ३८ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको दाहालको भनाइ छ ।

सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको दाहालले बताइन् । गर्मी बढेसँगै साना बालबालिका बिरामी समेत पर्न थालेका छन् ।

यसैगरी, अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिकाले पनि पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ । गर्मी बढेपछि अभिभावकले अनुरोध गरेकाले वर्षे बिदामा कट्टी हुने गरी असार २ देखि ६ सम्म पाँच दिन सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय भएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।

हेटौंडामा अत्यधिक गर्मी बढेपछि कतिपय विद्यालयका कयौं विद्यार्थी बेहोस समेत भएका थिए । देशैभरको तापक्रम उकालो लागिरहेका बेला भित्री मधेसमध्येको सबैभन्दा चिसो सहर मानिने हेटौंडाको समेत तापक्रम निकै बढेको हो । अहिले हेटौंडाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ भने अत्यधिक गर्मी बढेको छ ।

गर्मीका कारण चहलपहल शून्य भएको छ भने हेटौंडाका विभिन्न स्थानमा रहेका पौडी पोखरीहरुमा भीड बडेको छ । गर्मी छल्न भारत तथा नेपालका तराई क्षेत्रबाट आएकाले समेत पौडी पोखरीहरु भरिएका छन् । कतिपय व्यक्तिहरु गर्मी छल्न स्थानीय राप्ती, कुखुरेनी तथा सामारी खोलामा समेत पौडी खेल्न पुगेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर