संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै गुठी विधेयक फिर्ता लिइएको घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री एवं सत्तारुढ दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध पारेर बोल्नै दिएन ।
कांग्रेसका सांसदले संसदमा बोल्नै नदिएपछि प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ ५ बजे सिंहदरबारमा विशेष पत्रकार सम्मेलन आयोजना गरी त्यसैमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् । मङ्गलबार साँझ ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दिएका छन् ।
बहुचर्चित गुठी विधेयकविरूद्ध उपत्यकावासीले अप्ठ्यारै स्थिति सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्रीले मंगलबार नै सो विधेयक फिर्ता लिइएको घोषणा गर्ने तयारी गरेको बुझिएको छ । पत्रकार सम्मेलनबाटै त्यसको स्पष्ट सन्देश दिने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
हालै सम्पन्न प्रधानमन्त्रीको युरोप भ्रमण र विभिन्न विधेयकहरुका कारण सिर्जित परिस्थितिबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, काग्रेस सांसदले प्रमुख प्रतिपक्षी नेतालाई पहिले बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध पारिदिएपछि सम्बोधनका निम्ति रोस्ट्रममा पुगिसकेका ओली सम्बोधन नै नगरी फिर्ता भए ।