newskoseli.Com

राजधानीमा ज्योतिष सम्मेलन : हावादारी भविष्यवाणी गर्नेमाथि बन्देज लगाउन माग

नेपाल ज्योतिष परिषद् र दक्षिण एशियाली ज्योतिष महासंघको आयोजनामा काठमाडौंमा १७औं राष्ट्रिय ज्योतिष सम्मेलन सुरु भएको छ । सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय अनेक ‘भविष्यवाणी’ गर्ने र चर्चामा आउने प्रवृत्तिले समग्र ज्योतिषविद्यालाई नै बद्नाम गराउने काम भएको भन्दै यस्ता कार्यलाई बन्देज लगाउनुपर्ने धारणा राखेका छन् ।

सम्मेलनको उदघाटन गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले ज्योतिषशास्त्रको उत्पत्ति नेपालमै भएको र यसले समाजलाई मार्गदर्शन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । ज्योतिषशास्त्रको शास्त्रीय मान्यतालाई स्थापित गर्न सबै ज्योतिष एकजुट हुनुपर्ने उनले बताए । ‘ज्योतिषलाई सम्मान, आदर र मर्यादाले हेर्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने– ‘यसका लागि ज्योतिषहरुबीच एकताको खाँचो छ ।’

विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेलले नेपालमा तीन प्रकारका ज्योतिषहरु रहेको उल्लेख गर्दै सबै ज्योतिषहरुमा मतैक्यता रहन नसकेको बताए । संस्कृत विश्वविद्यालबाट ज्योतिषाचार्य लिएका, विभिन्न प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिएका र पुर्ख्यौली परम्पराअनुसार ज्योतिष पेशा गर्दै आएका गरी नेपालमा तीन खालका ज्योतिषहरु रहेको उनले उल्लेख गरे । विश्वविद्यालयमा पढेकाहरु भन्दा प्रशिक्षण लिएका र कुल–परम्परा अनुसार ज्योतिष गर्नेहरु नै समाजमा अब्बल ठहरिएको उनको भनाइ छ ।

दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव विष्टले ज्योतिष क्षेत्रमा रहेका विकृतिको अन्त्य गर्न वास्तविक ज्योतिषले समान धारणा बनाउनुपर्ने बताए । अग्रजहरुले सौद्धान्तिक ज्ञानभन्दा पनि अनावश्यक गफ दिएका कारण नयाँ पुस्तामा क्षमता वृद्धि हुन नसकेको उनले बताए ।

गलत प्रचार र हल्ला फैलाउने ठग ‘ज्योतिष’ लाई निरुत्साहित गर्नुपर्ने ज्योतिष परिषदका अध्यक्ष माधवराज पाण्डेले बताए । ‘सामाजिक सञ्जालबाट गलत प्रचार गरेर नागरिकमा आतङ्क फैलाउने व्यक्ति ज्योतिष हुन सक्दैन,’ उनले भने– ‘तिनले समग्र ज्योतिष क्षेत्रलाई बदनाम गराइरहेका छन् ।’

कार्यक्रममा संस्कृत विश्वविद्यालयका सहप्रध्यापक डा. माधवप्रसाद पौडेल, परिषदका महासचिव सन्तोष वाशिष्ट, सचिव लक्ष्मण पन्थी, राष्ट्रिय महिला ज्योतिष सङ्घकी अध्यक्ष रतिदेवी श्रेष्ठ जोशीलगायतले मन्तव्य राखे । सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर