महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा शनिबार राति तोडफोड भएको छ । उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।
इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार नगरपालिका कार्यालयमा मनपर्दी रूपमा कामकाज गर्दै आएको भन्दै त्यसैको विरोधमा उपमेयर रेणु झाकै नेतृत्वको टोलीले शनिबार साँझ कार्यालयमा तोडफोड गरेको हो । अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीले शनिबार भने अफिस आएर साँझपख काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।
नगरप्रमुख सुनिलकुमार यादवले भने कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको बताएको प्रहरी निरीक्षक आचार्यको भनाइ छ । सो झडपका क्रममा उपप्रमुख पक्षका स्थानीय राजपा नेता ज्ञानु झा घाइते भएका छन् । स्थानीय क्लिनिकमा उनको उपचार भइरहेको छ ।
असार मसान्तको समयमा पनि कार्यालयमा नियमित रूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसारका कामकाज समयमै सम्पन्न हुन नसकेको प्रतिक्रिया स्थानीयवासीले दिएको खबर राससले प्रेषित गरेको छ् ।