सरकारले नेपालकै दुई ठाउँमा पेट्रोलियम पदार्थको उत्गनन् गर्ने भएको छ । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खनन प्रक्रिया सुरु गर्न लागेको हो । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिक समेत नेपाल आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया सुरु हुने जानकारी दिए । नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक यहाँ आएका छन् ।
विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया सुरु हुन लागेको जानकारी दिएका हुन् । सरकारले नवलपरासीको धौवादीमा रहेको फलाम खानीको समेत उत्खनन प्रक्रिया अगाडि बढाएको जानकारी उनले दिए । उपलब्ध साधन–स्रोतको उपयोग गरी बजार अनुगमन गरिएको र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहेको पनि उनले बताए ।
जेठ मसान्तसम्म १ हजार ५ सय ४५ वटा फर्मको अनुगमन गरिएको उल्लेख गर्दै १ सय ४५ फर्मलाई जरिवाना गरिएको जानकारी मन्त्री यादवले दिए । एक फर्मको अनुमतिपत्र खारेज गरिएको र ६ वटा फर्मलाई कारबाहीका लागि सम्बन्धित निकायलाई पठाइएको तथा ३ वटालाई मुद्दा चलाइएको उनले उल्लेख गरे ।
गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिह्न प्राप्त गरेका १ सय ४५ वटा फर्म र अन्य १ सय ६९ फर्मको अनुमगन गरिएको छ । अनुगमनका क्रममा कूल ११ प्रकारका सामग्रीको बिक्री रोक्का गरिएको र १३ वटाको गुणस्तर चिह्न स्थगन गरिएको मन्त्री यादवले बताउए । उपभोक्ता ठगी गर्ने २१ वटा पेट्रोल पम्पलाई कारबाही गरिएको जानकारी पनि मन्त्री यादवले दिएको खबर राससले प्रेषित गरेको छ ।