देशको पूर्वी क्षेत्र हुँदै बिहीबारदेखि नेपाल प्रवेश गरेको मनसुन आइतबार पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताएकी छन् ।
कँडेलका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । शनिबार रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको छ । उनका अनुसार सोमबारसम्ममा देशभर मनसुन सक्रिय हुनेछ । मनसुनको प्रभावले तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकाले बाढी–पहिरो आउन सक्ने भनी सचेत रहन आग्रह गरिएको छ ।
आइतबार राति देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
मङ्गलबार देशको मध्य पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी भूभागमा सामान्य बदली भई पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ । आइतबार दिपायलको अधिकतम तापक्रम ३९ दशमलव ० डिग्री सेल्सियस (सबैभन्दा धेरै) मापन गरिएको खबर राससले प्रेषित गरेको छ ।