सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारद्वारा हालै गरिएको आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याका विरूद्ध मंगलबारको नेपाल बन्दमा जुटेको छ । सोही बन्दको अघिल्लो दिन राजधानीबाट सो पार्टीका युवानेता नरबहादुर कार्की पक्राउ परेका छन् ।
नेता कार्की सोमबार बालुवाटारबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले पुष्टि गरेका छन् । ‘नो ट्याक्स, नो एनसेल’ अभियान चलाइरहेका कार्कीलाई अपराह्न काठमाडौंको बालुवाटारबाट महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको एसएसपी सुवेदीले जनाएका छन् । कार्कीमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सामाजिक अभियन्ता रहेका युवानेता कार्की निराश व्यक्तिहरूलाई जीवनमा फर्काउने अद्भुत प्रशिक्षण क्षमताका कारण संसारभर प्रसिद्ध छन् । मङ्सिर ८ मा सत्ताधारी नेकपा परित्याग गरी विप्लव नेकपामा आबद्ध भएका कार्कीले सो पार्टीको अन्तर्राष्ट्रिय विभाग समेत हेर्दै आएको बताइन्छ ।