राजधानीस्थित भद्रकाली मन्दिर परिसरमा एक युवतीमाथि दुर्व्यवहार (कुटपिट) गर्ने कथित धर्तीमाता भनिएकी महिलालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । असार ५ मा मन्दिरमै उनले महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले सो घटनाबारे जानकारी दिँदै उपचारका नाममा युवतीमाथि दुर्व्यवहार गर्ने कुँवरलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएका हुन् । उनका अनुसार सो घटनामा दुर्व्यवहार भोगेकी युवती भने सम्पर्कमा नआएकीले उनको पनि खोजी भइरहेको छ ।
विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको श्रब्यदृश्यमा मानिसको ठूलो भीडकै बीच ती महिलाले एक युवतीलाई कुटपिट गरिरहेको देखाइएको थियो । घटना हुँदा सो स्थानमा नेपाल प्रहरीका कर्मचारी समेत देखिएकोबारे पत्रकारले सोधेको जिज्ञासामा परिसरका प्रमुख सुवेदीले भीड नियन्त्रण गर्न र मानिसको सुरक्षाका लागि आएकाले कुनै पूर्वघोषित कार्यक्रममा नखटिएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।