newskoseli.Com

उड्डयन प्राधिकरणको महानिर्देशमा राजन पोखरेल नियुक्त

सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गरेको हो ।

मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका पोखरेल महानिर्देशक पदमा पुग्न सफल भएका हुन् । मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको पत्र शुक्रबार प्राप्त भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

हवाई सुरक्षा र पूर्वाधार निर्माणका साथै समग्र उड्डयन उन्नयममा कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता पोखरेलले व्यक्त गरेका छन् । वायुसेवा प्रदायक कम्पनीसँग सहकार्य गर्दै नेपालको उड्डयन सुरक्षालाई निरन्तर सुधारका साथै निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा आन्तरिक विमानस्थलको सुदृढीकरण आफ्नो प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।

युरेपेली सङ्घ (इयू) को उडान सुरक्षा सन्देह हटाउनु, नेपालको उड्डयन सुरक्षामा उपलब्ध परिणामलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउनुर नागरिक उड्डयनको संस्थागत सुधार गर्नु आफ्नो प्रमुख चुनौती भएको महानिर्देशक पोखरेलले बताए । २०४७ मा तत्कालीन हवाई सेवा विभागबाट राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधि सेवा) मा सेवा प्रवेश गरेका पोखरेलसँग नागरिक उड्डयन सुरक्षासँग विशेष अनुभव छ । पोखरेल यसअघि नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालयको उपमहानिर्देशको पदमा कार्यरत थिए । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को उडान सुरक्षा अडिट कार्यक्रमको नेपालको राष्ट्रिय संयोजकका रुपमा काम समेत गरेका थिए ।

आइकाओले नेपाललाई राखेको गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटाउन र नेपालको उडान सुरक्षा मापदण्ड सिफारिस तथा मार्गदर्शन परिपालनको अवस्थालाई आइकाओबाट निर्धारित ६० प्रतिशतको दरभन्दा माथि राखी ६७ प्रतिशत पुर्‍याउन पोखरेलले योगदान गरेका थिए । सोही आधारमा नेपालले आइकाओ काउन्सिल प्रसिडेन्सियल सर्टिफिकेट समेत प्राप्त गरेको थियो ।

पोखरेलमा एयर ट्राफिक कन्ट्रोलर, विमानस्थल प्रमुख, हवाई कानुन, हवाई सम्झौता, दुर्घटना जाँच, उड्डयन सुरक्षा नियमनमा अनुभव रहेका छन् । वि.स. २०२१ मा बर्दियाको गुलरियामा जन्मिएका पोखरेलले व्यवस्थापन विषयमा एमबीए गर्नुका साथै उडान सुरक्षा, विमानस्थल सुरक्षा अन्तर्राष्ट्रिय हवाई कानुनलगायत तालिम प्राप्त गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर