newskoseli.Com

माओवादी नेता श्रीनाथ अधिकारीको निधन

नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’ को निधन भएको छ । पछिल्ला केही दिनयता स्वास्थ्य स्थिति गम्भीर बनेपछि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको आईसीयूमा उपचाररत अधिकारीको आइतबार राति ८ः०२ मा निधन भएको उनका छोरा नारायण अधिकारीले पुष्टि गरेका छन् ।

नेता अधिकारीको १९ पुसदेखि निरन्तर अस्पतालमा उपचार भैरहेको थियो । सुरुमा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइएका उनलाई वैशाख २७ देखि हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा ल्याई उपचार भइरहेको थियो । नेता अधिकारी फोक्सोको क्यान्सरबाट पीडित थिए । फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकासम्म पुग्नुका साथै कम्मरमुनिको भागमा पक्षाघात समेत भएको थियो ।

उनी गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलन तथा पार्टीका संस्थापक नेता हुन् । नेपाली कम्युनिस्ट आन्दोलन, खासगरी माओवादी आन्दोलनका सबै धाराका नेता–कार्यकर्ताहरुले उनलाई एक अनुकरणीय व्यक्तित्वका रुपमा लिने गर्दछन् र त्यही रुपमा सम्मान प्रकट गर्ने गर्दछन् । नेता अधिकारी इमानदार, त्यागी, निष्ठावान्, आदर्शयुक्त व्यक्तित्वका रुपमा स्थापित छन् ।

नेता अधिकारीको निधनको खबर लगत्तै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ लगायत नेता–कार्यकर्ताहरु अस्पताल पुगेका छन् । यसअघि पनि अधिकारीको स्वास्थ्य स्थिति बुझ्न क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, स्थायी समिति सदस्य हरिभक्त कँडेल ‘प्रतीक’ लगायत शनिबार अस्पताल पुगेका थिए ।

नेपाली कम्युनिस्ट आन्दोलनका असाध्यै इमानदार, सादगी, सिद्धान्तनिष्ठ र लगनशील नेताका रुपमा परिचित अधिकारीको निधनको खबर प्रवाहित भएसँगै उनीप्रति श्रद्धा व्यक्त गर्नेहरुको बाढी चलेको छ । अन्तिम श्रद्धाञ्जलीका लागि नेता अधिकारीको पार्थिव शरीर साेमबार बिहान ९ देखि १२ बजेसम्म कुपण्डोलस्थित क्रान्तिकारी माओवादीको पार्टी कार्यालयमा राखिने भएको छ ।

दिवंगत नेता अधिकारीकी श्रीमती, तीन छोरा र दुई छोरी छन् । जेठा छोरा नारायण अधिकारी ‘निश्चल’ क्रान्तिकारी माओवादीकै केन्द्रीय सदस्य छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर