खोटेहाङ गाउँपालिका– २, बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनुका साथै तीन जना बेपत्ता भएका छन् ।
चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमती, छोरा र छोरी बेपत्ता भएका छन् । शुक्रबार बिहान करिव ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए ।
‘पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्,’ उनले भने– ‘अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरी सहितको टोली घटनास्थलमा परिचालन भएका छन् ।’ घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवा समेत उपलब्ध नहुँदा बेपत्ताबारे थप जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।
घरदेखि करिव चार सय मिटर माथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनुका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन् । जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातारको वर्षासँगै चलेको हावाहुरीले बिहीबार रातिदेखि विद्युत समेत अवरुद्ध भएको खबर राससले प्रेषित गरेको छ ।