डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोले रसुवामा एउटा यात्रुवाहक सुमो गाडी पुरिएको छ । गुडिरहेको गाडीलाई पहिरोले पुर्दा दुई जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्रपुरुष ढकालले जानकारी दिएका छन् । काठमाडौंबाट यात्रु बोकेर जाँदै गरेको ना १ ज ७८२४ नम्बरको सुमो गाडी गोसाइँकुण्ड गाउँपालिका– २, तातोपानी डाँडाबाट झरेको पहिरोमा पुरिएको हो ।
घाइतेहरुको उद्धार गरेर प्रहरीले टिमुरेस्थित स्वास्थ्यचौकीमा उपचार गराइरहेको छ । थप उपचारका निम्ति घाइतेहरुलाई जिल्ला अस्पताल र आवश्यकताअनुसार काठमाडौं ल्याउने तयारी भैरहेको बताइएको छ । घटनामा निधन भएकाहरुको सनाखत हुन सकेको छैन ।