टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल र नेपाल टेलिकमका विभिन्न जिल्लामा रहेको झन्डै दुई दर्जन टावरमा बुधबार र बिहीबार आगजनी गरेर क्षति पुर्याइएको छ । सो आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको आशंका सरकारी पक्षले गरेको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार एनसेलका २२ वटा र नेपाल टेलिकमको एउटा टावरमा आगजनी भएको छ । बुधबार साँझदेखि बिहीबार बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरिएको प्रहरीले जनाएको छ । विप्लव नेकपाले नै आगजनी र तोडफोड गराएको दावी गर्दै अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।
प्रहरीले दिएको जानकारी अनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेका एनसेलका २२ वटा टावरमा आक्रमण भएको हो । अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ ।
ललितपुरमा भने बुधबार राति प्रेसर कुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको टोलीले निस्क्रिय पारेको जानकारी प्रहरीले दिएको छ । बुधबार नै विप्लव नेकपाले मुलुकका विभिन्न २१ जिल्लामा बन्दको आह्वान गरेको खबर राससले प्रेषित गरेको छ ।