चितवनको कालिका नगरपालिका वडा नं. ३ को कार्यालयमा शुक्रबार बिहान ३ बजे आगजनी भएको छ । वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगजनीबाट कार्यालयभित्र रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर र कागजातलगायतका सबैजसो महत्त्वपूर्ण सामग्रीहरु जलेर नष्ट भएका छन् । कार्यालयमा पेट्रोल छर्केर आगजनी गरेको जानकारी वडाध्यक्ष टीकाराम रिजालले दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा लिइएको बताइएको छ । आगजनी कसले र किन गरेको हो भन्नेबारे केही पनि नखुलेको र यससम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि मंगलबार राति र बुधबार बिहान पनि देशका विभिन्न भागमा गरी झन्डै आधा दर्जन वडा कार्यालयहरूमा आगजनी भएको थियो । ती आगजनीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने आशंका राज्य पक्षले गरे तापनि सो पार्टीले जिम्मेवारी लिएको छैन र कहीं–कतैबाट त्यसबारे पुष्टि भएको छैन ।