newskoseli.Com

‘लेन मिच्ने’ ४२८२२ ड्राइभरमाथि ट्राफिक कारबाही

‘लेन अनुशासन’ पालना नगर्ने ४२ हजार ८ सय २२ चालकमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ । आर्थिक वर्ष २०७५–०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारी साधन चलाउने उक्त संख्याका सवारी चाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको हो ।

आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरिएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रवीकुमार पौडेलले दिए । ‘हतारोका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौं’– उनले भने । महाशाखाले सीसीटीभी, ग्रोप्रो क्यामरा र बडीवन क्यामराबाट समेत ‘लेन अनुगमन’ गरी अनुशासनको कारबाही गर्दै आएको छ ।

लेन अनुशासन कायम नगरेको सीसीटीभीबाट देखिएमा सवारी साधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवाना समेत गर्ने गरिएको छ । कारबाहीमा परेकामध्ये ४० हजार ६ सय १९ पुरुष र २ हजार २ सय ३ जना महिला रहेका छन् । लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले ५ सय रूपैयाँ जरिवाना र १ घन्टा ‘चेतनामूलक कक्षा’ सञ्चालन गरी कारबाही गर्दै आएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले २०७१ असोज २६ देखि ‘लेन अनुशासन कारबाही’ गर्दै आएको हो । महाशाखाले हालसम्म ३ लाख ८ हजार ५ सय ४७ चालकलाई ‘लेन अनुशासन कारबाही’ गरी ‘चेतनामूलक कक्षा’ लिइसकेको प्रवक्ता पौडेलले बताए । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौं उपत्यकामा मात्र ९ लाख हाराहारी संख्याका सवारी साधन सञ्चालनमा रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर