रामेछापको खाँडादेवी गाउँपालिका– ३, भीरपानीस्थित वडा कार्यालयमा शनिबार बिहान दुई बजेतिर अज्ञात समुहले गराएको सिलिन्डर बम विस्फोटमा वडा कार्यालय ध्वस्त भएको खबर छ ।
विस्फोटबाट कार्यालयमा व्यापक क्षति पुगेको र सबैजसो कागजपत्र जलेर नष्ट भएको छ । बम विस्फोटका कारण कार्यालयमा ठूलो क्षति भएको वडाअध्यक्ष पुष्करकुमार कार्कीले बताएका छन् । विष्फोटबाट चारकोठे वडा कार्यालयको एउटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने अरु कोठामा पनि क्षति पुगेको छ । सबै कोठालाई क्षति पुग्ने गरी विस्फोट गराइएको पाइएको बताउँदै जताततै सिलिन्डरका टुक्रा छरिएको उनले जानकारी दिए ।
घटनालगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ । विष्फोट गराउनेहरुको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । हाल वडा कार्यालय रहेको सभाहल सहितको उक्त चारकोठे पक्की भवन करिव आठ वर्षअघि जिल्ला प्राविधिक कार्यालयले निर्माण गरेको थियो ।