newskoseli.Com

नेपालमै पाइलट पढाइने, वायुसेवा निगम ‘सुधार्न’ कार्यदल : मन्त्री योगेश भट्टराईका ‘बोल्ड डिसिजन’

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरीय) बुधबारको निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्यहरूमा लेखाविज्ञ (चार्टर एकाउन्टेन्ट) सुबोधकुमार कर्ण, व्यवस्थापनविज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने (सदस्य सचिव) रहेका छन् ।

कार्यदललाई एक महिनाभित्र निगमको समग्र सुधारका लागि ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन कार्ययोजना समेत पेस गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलले निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययनको प्रतिवेदन विश्लेषण गर्ने, निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने तथा निगमका कानुनी एवं संस्थागत–संगठनात्मक, व्यवस्थापकीय र व्यावसायिक क्षमतामा रहेका समस्याको पहिचान तथा विश्लेषण गर्नेछ ।

उल्लेखित सबै पक्षहरुमा गर्नुपर्ने तत्कालीन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेस गर्ने र निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्कन नसकेको अवस्थामा अन्तर्राष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यावसायिक क्षमतामा वृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक भएको मन्त्रालयको ठहर छ ।

यसअघि पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले निगमको विद्यमान व्यवस्थापनमा देखिएको अन्यौलग्रस्त अवस्थालाई सुधार गरी सेवालाई प्रभावकारी बनाउन सुधार योजना ल्याइने बताए । मन्त्री भट्टराईले साउन १५ मा पदभार ग्रहणकै क्रममा निगमलाई ‘वाह ! नेपाल एयरलाइन्स’ भन्ने खालेको बनाइने उदघोष गरेका थिए ।

आफ्नो पदबहालीको प्रतिबद्धताअनुरूप निगमको साख उकास्न सबैखाले सुधारात्मक काम गर्ने उनले उल्लेख गरे । पर्यटनमन्त्री भट्टराईले भने– ‘अहिलेको ‘हट केक’ नेपाल वायु सेवा निगम हो, मैले जिम्मेवारी सम्हालेको दिन जे भनेको थिएँ त्यही गर्नेछु किनकि निगम सुधार्ने विषय त्यत्तिकै बोलेको होइन; एक साताभित्र सबैभन्दा धेरै बैठक र छलफल निगमसँग जोडिएका सबै निकाय र पक्षसँग गरेको छु, छिट्टै सुधार आउने गरी काम थालिनेछ ।’

निगम व्यवस्थापन सुधारका लागि अब अल्मलिने अवस्था नरहेको भन्दै निगम सुधारका लागि घोषित कार्यदलको एक महिनाको अवधिमा आउने सुझावअनुरुप निगम सुधारका काम अघि बढाइने उनले उल्लेख गरे । निगमका आन्तरिक उडानका लागि सबै जहाज पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तार गर्दै निकट भविष्यमै चीन, दक्षिण कोरियालगायतका गन्तव्यमा सेवा सञ्चालन गरिने मन्त्री भट्टराईको भनाइ छ ।

नेपालमै उड्डयन विद्यालय स्थापना गरी पाइलट पढाइने

सरकारले स्वदेशमै कम खर्चमा विमानचालक (पाइलट) उत्पादनका लािग उड्डयन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने भएको छ । देशभित्रै पाइलट उत्पादन गर्ने र उनीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने उद्देश्यका लागि उड्डयन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने योजना रहेको पर्यटनमन्त्री भट्टराईले सुनाए ।

अहिले ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर पाइलट पढ्न विदेश जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्योभन्दा कम खर्चमै देशभित्रै पाइलट अध्ययनको व्यवस्था गर्न विद्यालय स्थापना गर्ने सोच बनाइएको उनले बताए । त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य निजी वायुसेवा कम्पनीहरुबाट लगानी जुटाउने बताइएको छ । उड्डयन विद्यालयसम्बन्धी विस्तृत कार्ययोजना केही दिनभित्रै ल्याइने जानकारी उनले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर