newskoseli.Com

प्रशिद्ध काँक्रेबिहारमा लगातार तोडफोड : कसले गर्‍यो, किन गर्‍यो ?

पर्यटकीयस्थल काँक्रेबिहारको अज्ञात समूहले पछिल्लो समय लगातार तोडफोड गर्दै आएको छ । वीरेन्द्रनगर– ९, लाटीकोइलीस्थित पुरातात्त्विक स्थल काँक्रेबिहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातको समयमा लगातार अज्ञात समूहको निशानामा परेको हो ।

शनिबार, आइतबार र सोमबार राति बिहारको तोडफोड गरिएको स्थानीय हेरालु सीता कार्कीले बताइन् । ‘उच्छृङ्खल समूहले मूल गेट, सुरक्षा पर्खाल र टिकट काउन्टर तोडफोड गरेको छ,’ उनले भनिन्– ‘प्रवेशद्वारमा लगाइएको ताला पनि फोडिएको छ, टिकट काउन्टर, हात धुने बेसिनलगायतमा तोडफोड गरिएको छ ।’

दक्षिणतर्फको गेटमाथिको गजुर पनि भाँचिएको अवस्थामा फेला परेको छ । हेरालु र टिकट व्यवस्थापक दिउँसो मात्र त्यहाँ बस्ने गर्दछन् । रातको समयमा चौकीदार नहुँदा असुरक्षा बढेको स्थानीयवासी बताउँछन् । गजुर, ढोका र काउन्टर तोडफोडको सूचना सार्वजनिक भएपछि वीरेन्द्रनगर– ९ को वडा कार्यालयले चासो दिएको छ । तोडफोडमा संलग्नको पहिचान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको वडाध्यक्ष सुरेश मानन्धरले बताए । मङ्गलबार घटनास्थल पुगेर प्रहरीले मुचुल्का उठाएको छ ।

काँक्रेबिहार जङ्गल क्षेत्रमा भएकाले सुरक्षा चुनौती रहेको वडाध्यक्ष मानन्धरले बताए । ‘काँक्रेबिहारमा अस्थायी प्रहरी पोस्ट राख्न पनि अनुरोध गरेका छौं, प्रदेशकै प्रमुख पर्यटकीयस्थल हो, पर्यटकको भीडभाड हुनेमध्येको एक स्थान हो,’ उनले भने– ‘पुरातात्त्विक वस्तुहरु छरिएका छन्, भग्नावशेषको जिर्णोद्धार भइरहेको छ त्यसैले अब चौकीदार र सुरक्षा पोस्टको आवश्यकता भइसकेको छ ।’

पुरातत्त्व विभागले ०७२ देखि भग्नावशेष सङ्कलन गर्दै पुरानै स्वरुपमा पुनर्निर्माण आयोजना सञ्चालन गरिरहेको छ । काँक्रेबिहारमा २१ मिटर अग्लो कलात्मक शिखरशैलीको मन्दिर बन्दैछ । जिल्ला प्रहरी कार्यालयले वडा कार्यालयलाई काँक्रेबिहार क्षेत्रमा विद्युत् र सीसीटीभी क्यामरा जडान गर्न तथा चौकीदार राख्न आग्रह गरेको छ ।

घटना संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वसन्त रजौरेले बताए । ‘प्रहरीले घटनामा संलग्नको खोजी तीव्र पारेको छ, रातको समयमा निगरानी बढाएका छौं’– उनले भने । लागूऔषध सेवनकर्ताबाट तोडफोड गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

५ वर्षदेखि प्रहरी कार्यालयमै बुद्धमूर्ति प्रतिस्थापन !

वि.सं. २०७१ मा सुर्खेतका बौद्ध धर्मावलम्बीहरु बुद्धजयन्तीको अवसरमा बुद्धमूर्ति प्रतिस्थापना गर्ने योजनामा थिए । काँक्रेबिहारलाई संरक्षित क्षेत्रका रुपमा संरक्षण गर्दै आएका हिन्दू समुदाय बौद्ध विशेषको सम्पदा गराउन तयार भएनन् । पुरातत्त्व विभागले पुनर्निर्माणको योजना सञ्चालन गरिरहेका बेला बुद्धमूर्ति प्रतिस्थापन गर्नु नहुने हिन्दू समुदायको तर्क रह्यो ।

उता, बौद्ध धर्मावलम्बीले काँक्रेबिहार क्षेत्रमा छरिएका मूर्तिहरु, बिहार शैलीका अवशेषले बुद्ध विशेषकै सम्पदा भएको जिकिर गर्न थाले । विवादले उग्र रुप लिन थाल्यो । बुद्ध प्रतिमाले गर्दा दुई समुदायबीच आपसी मनमुटावको बिजारोपण हुन पुग्यो । हिन्दू–बौद्ध तनाव बढ्न नदिन स्थानीय प्रशासनले सहमति नहुन्जेलसम्मका लागि बुद्धमूर्ति जिल्ला प्रहरी कार्यालयकै हाताभित्र राख्ने निर्णय गयो ।

काँक्रेबिहार क्षेत्रमा प्रतिस्थापन हुनुपर्ने बुद्धको ठूलो प्रतिमा ५ वर्षदेखि प्रहरी परिसरमा राखिएको छ । त्यसयता वर्सेनि बुद्धजयन्तीमा यहाँका बौद्ध धर्मावलम्बीहरु प्रहरी हाताभित्रै पुगेर पूजापाठ गर्दै आएका छन् । काँक्रेबिहारको पहिचानलाई लिएर यहाँका हिन्दू र बौद्ध समुदाय विभाजित रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर