newskoseli.Com

८७ देशमा नेपाल टेलिकमको ‘रोमिङ’ सेवा : विभिन्न सेवाको शुल्कमा भारी कटौती

नेपाल टेलिकमले विश्वभरका ८७ मुलुकमा जाँदा ‘रोमिङ’ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १ सय ९२ दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो ।

तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटि भारी छुट प्रदान गरिएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । कम्पनीको जीएसएम मोबाइल सेवा प्रयोग गर्ने ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो । कम्पनीले वैशाख १६ देखि जीएसएम प्रिपेड मोबाइलका ग्राहकका लागि पनि दुई छिमेकी मुलुक चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ ।

‘जीएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तर्राष्ट्रिय रोमिङ सुविधापश्चात भारतमा जाँदा नेपाललगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित जम्मा १४ रूपैयाँ मात्र लाग्छ’– प्रवक्ता वैद्यले भनिन् । यसैगरी, भारतमा रहँदा उक्त सेवामार्फत नेपाल वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रूपैयाँ लाग्नेछ भने जम्मा २४ रूपैयाँमा विश्वभर सन्देश (एसएमएस) पठाउन सकिनेछ । साथै, निःशुल्क सन्देश पनि प्राप्त गर्न सकिनेछ ।

उत्तरी छिमेकी मुलुक चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र नेपाललगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँ मात्र लाग्ने छ । चीनभरि जुनसुकै नम्बरमा (कम्पनीको जीएसएम प्रिपेड मोबाइल समेतमा) कुरा गर्दा प्रतिमिनेट ५० रुपैयाँ र त्यहाँबाट विश्वभर जम्मा ५४ रुपैयाँमा सन्देश पठाउन सकिने छ ।

कम्पनीले जीएसएम पोस्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपैयाँ मात्र कायम गरेको छ । कम्पनीका जीएसएम प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् । रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदान–प्रदान गर्न सकिनेछ ।

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि स्टार १४१५ ह्यास डायल गर्नुपर्दछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी सेवा लिन सकिन्छ । पोस्टपेड मोबाइलमा सुविधा लिनका लागि कम्पनीको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्दछ । नेपाल टेलिकमले सन् २००१ देखि जीएसएम पोस्टपेड सेवाको ग्राहकका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको सुरुआत गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर