newskoseli.Com

प्रचण्डको सचिवालयले भन्यो : ‘विदेशी बैंकमा खाता र पैसा छैन, प्रमाणित गर्न चुनाैती छ’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारका सदस्यले दुबईमा अकूत सम्पत्ति लुकाएको भनी केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा चलाइएको प्रचारबाजी पूरै भ्रामक र षड्यन्त्रपूर्ण रहेको भन्दै अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।

पत्नी सीता दाहालको उपचार र आरामका लागि भन्दै गत साता दुबई पुगेका प्रचण्डलाई उनका दिवंगत छोरा प्रकाश दाहालको नाममा दुबईस्थित बैंकमा करोडौं सम्पत्ति रहेकााले त्यसैको व्यवस्थापन गर्न गएको भनी केही अनलाइन मिडियाले समाचार प्रकाशन गरेपछि प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले विज्ञप्ति निकालेर त्यसको खण्डन र भर्त्सना गरेका हुन् । यस्तो प्रचारबाजीबाट कत्ति पनि भ्रमित नहुन उनले आम जनसमुदायमा अपिल गरेका छन् ।

प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनक्रान्तिका उपलब्धिविरुद्ध प्रतिगामी तत्त्वहरु योजनाबद्ध ढंगले लागिपरेको भन्दै यस्ता अनर्गल प्रचारको पछि नलाग्न अपिल गरिएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ–

आदरणीय जनसमुदाय,

यतिबेला जनक्रान्तिका उपलब्धिविरुद्ध प्रतिगामी तत्त्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुस्प्रयास भइरहेको छ । क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्त्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् ।

यसकै पछिल्लो कडीका रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको विषयलाई लिएर केही कुत्सित मनशाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन् । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ । यस प्रकारको दूराशयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो ।

कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौं । परिवर्तनविरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्त्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपिल गर्दछौं । यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्त्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।

२८ साउन, २०७६

… … … … … …
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष प्रचण्डको निजी सचिवालय

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर