newskoseli.Com

घाँटी रेटेर बन्दीपुरे श्यामबहादुरको कसले गर्‍यो हत्या ?

बन्दीपुर गाउँपालिका– १, डुम्रेबजार, तनहुँ निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या सोमबार गरेको हो ।

शाहीको शव बन्दीपुर गाउँपालिका– ४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए । शाहीको खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ ।

माछा मार्न जाने क्रममा स्थानीयवासीले सोमबार शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालिम प्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

‘घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम सुरु गरिसकेका छौं,’ प्रहरी उपरीक्षक सिलवालले भने– ‘शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।’ हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानुनको दायरामा आउने दावी प्रहरी उपरीक्षक सिलवालले गरे । शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण सुनकै प्रलोभनले गर्दा हत्या भएको हुन सक्ने स्थानीयवासी बताउँछन् ।

‘उहाँसँग सधैं चार–पाँच तोला सुन र ४०–५० हजार रूपैयाँ हुन्थ्यो,’ एक स्थानीयवासीले भने– ‘त्यही प्रलोभनका कारण उहाँको हत्या भएको हुन सक्छ ।’ रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर