newskoseli.Com

पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई के हुन्छ सजाय ?

केही दिनअघि (२२ साउनमा) चितवनको नारायणगढ बसपार्कस्थित ‘कंगारु होटल’ मा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीकाे ‘आत्महत्या’ प्रकरणकै सिलसिलामा उनका पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

‘न्युज २४’ टेलिभिजनको कार्यलयबाटै टिभी कार्यक्रम प्रस्तोता लामिछाने र कँडेललाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । यसअघि बिहीबार अपराह्न नै प्रहरीले ओखलढुंगा घर भएकी अस्मिता भनिने नर्स रुकु कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएका छन् ।

पक्राउ परेका उनीहरूमाथि लागेको आरोप पुष्टि भएमा उनीहरूमाथि के–कस्तो सजाय हुन्छ त ? यसबारे अहलिे जिज्ञासा व्याप्त छ । लामिछानेसहित पक्राउ परेका यी तीनै जनामाथि लागेको ‘आत्महत्यामा दुरुत्साहन गरेको’ कसूर प्रमाणित भएमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था मुलुकी अपराध संहितामा छ ।

मृत्युपूर्व पुडासैनीले आफ्नो आत्महत्यामा लामिछाने, कँडेल र कार्की नै मुख्य कारण रहेको भन्दै बोलेको भिडियो ‘नेपाल आज’ नामक युट्युब च्यानलमा बुधबार मात्रै सार्वजनिक भएको थियो । आत्महत्या गर्नुअघि पुडासैनीले मोबाइलमा रेकर्ड गराएको उक्त भिडियोमा रवि लामिछाने र युवराज कँडेलले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख गरेका छन् । सोही भिडियो बयानका आधारमा प्रहरीले ‘न्युज २४’ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ नामक कार्यक्रमका प्रस्ताेता रवि लामिछाने र सोही कार्यक्रममा काम गर्ने युवराज कँडेललाई पक्राउ गरेको हो ।

आत्महत्याका निम्ति दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि लामिछाने र कँडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर, अस्मिता भनिने नर्स रुकु कार्कीलाई भने पक्राउ गरिएको नभई ‘संरक्षण गरिएको’ प्रहरीले बताएको छ ।

दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा पुगेका पत्रकार पुडासैनीलाई राति होटलवालाले खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए । प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेपछि रवि लामिछाने र कँडेललाई पक्राउ गरिएकाे बताइएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर