newskoseli.Com

रवि लामिछानेसहित ३ जनालाई फेरि ५ दिन थुनामा राख्ने गरी म्याद थप

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार अनुमति दिएको हो । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराएको थियो ।

वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदु शर्माले बहस गरे । प्रतिवादीका तर्फबाट अधिवक्ता सुनील पोखरेल, सुशील पन्त र चूडामणि सापकोटाले बहस गरे । आरोपी तीन जनालाई बिहान १० बजे नै अदालत लगिएको थियो । लामिछानेसहित पत्रकार कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ ।

चितवन जिल्ला अदालतले रविसहित तीनै जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न शुक्रबार पहिलो पटक निर्देशन दिएको थियो । अनुसन्धानका कयौं काम बाँकी रहेकाले थप अनुसन्धानका लागि प्रहरीको पत्रअनुसार सरकारी वकिलको कार्यालयले सुरूदेखि १० दिन म्याद दिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले बताए ।

सरकारी वकिलको मागका आधारमा मंगलबार पाँच दिन म्याद थप गरिएको जानकारी गिरीले दिए । तीन नम्बर इजलासमा बहस भएको उनले बताए । गत बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको समय सोमबार सकिएको थियो ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ । शव परीक्षण रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिपोर्ट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिपोर्ट प्राप्त भइसकेको र अदालतबाट थप पाँच दिनको अनुमति प्राप्त भएकाले अनुसन्धानमा सहज हुने प्रतिक्रिया जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले दिए ।

परीक्षण रिपोर्टमा पत्रकार पुडासैनीको आत्महत्याकै कारण ज्यान गएको उल्लेख गरिएको उनले बताए । मंगलबार पनि अदालत परिसर बाहिर लामिछानेका ‘समर्थक’ भेला भएका थिए । उनीहरुले पाँच दिनदेखि प्रदर्शन गरिरहेका छन् । अन्य दिनको तुलनामा मंगलबारको प्रदर्शन शान्तिपूर्ण रहेको खबर राससले प्रेषित गरेको छ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर