newskoseli.Com

प्रधानमन्त्री उडे सिंगापुर, १५ दिनपछि फर्कने, बीच–बीचमा ‘हेल्थ अपडेट’ दिइने

सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार अपराह्न फेरि सिङ्गापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली थाई एयरको उडान जीटी ३२० बाट सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेसनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणकै सिलसिलामा प्रधानमन्त्री ओली १५ दिन सिंगापुरमा बस्ने बताइएको छ । ‘चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जानुभएको हो’– प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहले विज्ञप्ति जारी गरेर उल्लेख गरेअनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएको थियो । ‘एन्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नुभएको हो’– डा. सिंहको विज्ञप्तिमा उल्लेख छ ।

सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने डा. सिंहको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे उल्लेखनीय जानकारी भएमा सिंगापुरबाटै सञ्चार माध्यमलाई जानकारी गराइने डा. सिंहले जनाएकी छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं’– विज्ञप्तिमा उल्लेख छ ।

भदौ २० गते थाई एयरको उडान नम्बर जीटी ३१९ बाट अपराह्न १२ः२५ मा प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओली यसअघि साउन १८ मा सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर साउन २७ मा स्वदेश फर्किएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर