newskoseli.Com

‘भिडियो कन्फ्रेन्स मन्त्रिपरिषद् बैठक’ बारे यसो भन्यो सरकारले…

स्वास्थ्योपचारका क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सिंहदरबारमा रहेका मन्त्रिपरिषदका सदस्यबीचको ‘भिडियो कन्फ्रेन्सको माध्यमबाट चलाइएको मन्त्रिपरिषद् बैठक’ लाई लिएर धेरै ‘उत्तेजित नहुन’ सरकारले आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फ्रेन्स प्रविधिको उच्चतम् प्रयोग भएको भन्दै अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका हुन् । ‘जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्नु आवश्यक छैन; त्यो मन्त्रिपरिषदको बैठक होइन, कहाँबाट ‘क्याबिनेट’, ‘क्याबिनेट’ ‘क्याबिनेट’ भएर आयो, बुझ्न नसकिएन, सत्य एउटै मात्र हुन्छ,’ उनले भने– ‘प्रधानमन्त्रीसँग विषयवस्तु आदान–प्रदान गरिएको हो, कुनै निर्णय गरेनौं, हामी अवसरवादी बन्दैनौं र बन्न सक्दैनौं, देश र जनताप्रतिको दायित्व र अभिभाराप्रति सधैं इमानदार भइराख्छौं ।’

भिडियो कन्फ्रेन्स जहाँबाट पनि हुन सक्ने उल्लेख गर्दै यसलाई ठूलो कुरा र अनर्थका रुपमा नबुझिदिन उनले आग्रह गरे । ‘दिल्ली, मस्को, अमेरिकाबाट पनि भिडियो कन्फ्रेन्स हुन सक्छ,’ उनले भने– ‘पहिलो प्रयास र अभ्यास हो, प्राविधिक रुपमा सक्षम छौं भन्ने प्रमाणित गरेको छ ।’ आफूले भिडियो कन्फ्रेन्स भएकै दिन समेत सञ्चारकर्मीलाई यसबारे स्पष्ट पारेको उनले बताए ।

भिडियो कन्फ्रेन्समा गोपनीयता नहुने, राष्ट्रहित खण्डित हुने, सार्वजनिक सत्तामाथि प्रश्न उठ्ने भन्दै प्रमुख प्रतिपक्षी दललगायतले सरकरको चर्को आलोचना गरेका थिए । सङ्घीय संसदमै पटक–पटक सो विषयमा सरकारको धारणा माग गरिएको थियो । चौतर्फी रुपमा उक्त विषय उठेपछि सरकारका प्रवक्ता बाँस्कोटाले भने– ‘हामीले कुनै ढाँटछल गरेका छैनौं, प्रविधिको प्रयोग गरेका हौं, अनावश्यक रुपमा टिप्पणी नगरौं ।’

प्रधानमन्त्रीले मन्त्रीसँग कुरा गर्नै नहुने गरी प्रश्न नउठाउन आग्रह गर्दै राष्ट्र र सार्वभौमसत्ताको विषयलाई जोडेर गरिएको गलत प्रचार आपत्तिजनक र खेदजनक भएको उनले बताए । ‘प्रधानमन्त्रीको त्याग, निष्ठा र सङ्कल्प, राजनीतिक आन्दालेनमा दिएको योगदान र राष्ट्रियताप्रतिको समर्पणका बारेमा कुनै प्रश्न उठाउनु आवश्यक छैन,’ प्रवक्ता बाँस्कोटाले भने– ‘सार्वभौमिकतामाथि प्रश्न उठडाइनु आपत्तिजनक छ ।’

प्रधानमन्त्री स्वास्थ्योपचारका लागि सिङ्गापुर गएको उल्लेख गर्दै त्यहाँ प्रधानमन्त्रीको उपचार चलिरहेको जानकारी पनि मन्त्री बाँस्कोटाले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर