newskoseli.Com

‘आत्महत्या दुरूत्साहन’ मुद्धा ओखलढुंगामा पनि

‘आत्महत्या दुरूत्साहन’ को आरोपमा ओखलढुंगामा पनि एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ । चम्पादेवी गाउँपालिका– १०, की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीय युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

गोमाले तीन महिनाअघि घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नुअघि उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको थियो । गोमाको परिवारले फेसबुकको ‘फेक आईडी’ खोलेर उनलाई बदनाम गराई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै पीडकको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।

प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा गोमालाई आत्महत्या गर्न युवराजले दुरुत्साहन गरेको पुष्टि भएपछि उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । प्रहरीसँगको बयानमा युवराजले गोमाको फेक आईडी खोलेर आफूले बदनाम गरेको स्वीकार गरेका छन् । जिल्ला अदालतमा दर्ता भएको ‘आत्महत्या दुरुत्साहन’ को यो दोस्रो मुद्दा हो ।

चर्चित शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि चितवन जिल्ला अदालतमा लागेको ‘आत्महत्या दुरुत्साहन’ मुद्धाले यसै साता व्यापक चर्चा पाएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर