newskoseli.Com

यस्ता पनि वडाध्यक्ष, जसले झोलुङ्गे पुल नै बेचिदिए !

विदुर नगरपालिका– ५ र बेलकोटगढी नगरपालिका– ८ नुवकोटका वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका– ५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका– ८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लागेको हो ।

वि.सं. २०२१ मा निर्माण भएको सो पुल स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा समेत वडाका आम नागरिकलाई केही थाहा नदिएको स्थानीयवासी बताउँछन् । पुराना सम्पदा सार्वजनिक रुपमा निर्णय नै नगराई बेचिदिँदा देवीघाटका वासिन्दा दुःखित बनेका छन् ।

कबाडीलाई सुरुमा ३ लाख रूपैयाँमा बेच्ने हल्ला भएको र पछि ७० हजार रूपैयाँ मात्रैमा बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए । उनले भने– ‘पञ्चायतकालमा निकै मिहेनत गरेर यो पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना–ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु चाहिँ झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए ।’

पुल कहाँ, कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र विदुर– ५ का वडाध्यक्षले ‘तपाईंको भाग’ भनेर ३५ हजार रूपैयाँ भने पठाएको बेलकोटगढी– ८ का वडाध्यक्ष पुडासैनीले दावी गरे । बेलकोटगढी नपा– ८ र विदुर नपा– ५ को सीमानामा रहेको झोलुङ्गे पुल बेच्ने कुनै लिखित निर्णय नभएको पनि उनले बताए ।

विदुर– ५ का वडाध्यक्ष शिवकुमारले भने सो पुल आफूले मात्र नभई बेलकोटगढी नपा– ८ का वडाध्यक्ष पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे । ‘गल्छी–त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेपछि पुरानो र प्रयोगविहीन रहेकाले कवाडीलाई बेचेका हौं,’ उनले भने– ‘कबाडीलाई ७० हजार रूपैयाँमा बेची दुवै वडाले ३५–३५ हजार बाँडेर लिएका हौं ।’

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदा समेत नछोई सडकको काम गरेको जनाएको छ । आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको विदुर नगरपालिकाकी प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर