चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौं भन्ने इच्छा सबैको हुन्छ । नयाँ, टलक्क परेको नोट लिने–दिने प्रचलन विशेष गरी दसैंको अवसरमा बढी हुने गरेको छ ।
के गाउँ, के सहर– सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले असोज १० देखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दसैं पर्वमा खासगरी साना दरका नयाँ, सुकिला नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट उपलब्ध हुने जनाएको छ ।
केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकाका विभिन्न कार्यालयमा समेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साट्न पाइने उल्लेख छ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १–१ प्याकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सर रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराइने राट्र बैंकले जनाएको छ ।
सो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने बैंकको भनाइ छ । बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिला तथा सीमित मात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको सूचनामार्फत राष्ट्र बैंकले जनाएको छ ।
नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
‘नोटमा केरमेट नगर्नोस्’
नोटमा केरमेट नगर्न केन्द्रीय बैंकले आग्रह गरेको छ । टीका लगाई दक्षिण दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ लागेका वा मैलिएका हातले नोट नछुन समेत बैंकले सबैलाई आग्रह गरेको छ ।
त्यस्ता नोट चलनचल्तीमा आउन नसक्ने भएकाले नयाँ वा सुकिला नोटको सुरक्षा गर्न बैंकले आग्रह गरेको हो । केन्द्रीय बैंकले अनुरोध गर्दै भनेको छ– ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौं ।’
नेपाली नोटमा कुनै पनि बहानामा रङ लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्य गरी दुरुपयोग गर्ने–गराउनेमाथि प्रचलित कानुन बमोजिम कारबाही हुने भन्दै सबैलाई त्यस्तो कार्य नगर्न–नगराउन समेत बैंकले आग्रह गरेको खबर राससले प्रेषित गरेको छ ।