पूर्वसांसद हरि बैरागी दाहालको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । २०५१ को मध्यावधि निर्वाचनमा संखुवासभा– २ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद पदमा निर्वाचित भएका थिए ।
राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा समेत स्थापित दाहाल ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित हुँदै आएको उनका पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिए । पूर्वसांसद दाहालको उपचारकै क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा बिहान निधन भएको हो ।
२०१४ कात्तिक २८ मा मादी गाउँपालिका– ५, संखुवासभामा फाल्गुकुमारी–यज्ञरत्नको सन्तानका रुपमा उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । दाहालको पार्थिव शुक्रबार बिहानैदेखि धुम्बाराहीस्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
पार्टी महासचिव विष्णु पौडेललगायतका नेता–कार्यकर्ताले पार्टी कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । दिउँसो १ बजेपछि पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको खबर राससले प्रेषित गरेको छ ।