सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच पार्टीगत सहयोगको आपसी आदान–प्रदानसम्बन्धी समझदारी भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले मंगलबार राजधानीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
दुई पार्टीबीच भएको छबुँदे समझदारीमा दुई दुवै पार्टीका राजनीतिक तथा आर्थिक मोडलको आदान–प्रदानका लागि उच्चस्तरीय भ्रमण गर्ने, नेपालमा भइरहेका कम्युनिस्ट पार्टीहरुका राजनीतिक तथा सैद्धान्तिक बहसहरुलाई दुवै पार्टीले तीव्रता दिनेलगायतका विषयमा मुख्य जोड दिइएको जानकारी नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले दिएका छन् ।
स्वदेश र विदेशका दुई राजनीतिक दलबीच यसरी आपसी हित र सहकार्यका सन्दर्भमा छलफल गर्ने भनी औपचारिक रूपमै समझदारी भएको नेपालका हकमा यो नै पहिलो पटक हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच चिनियाँ कम्युनिस्ट पार्टीसँग छुट्टाछुट्टै सम्बन्ध रहँदै आएको सन्दर्भमा दुई पार्टीबीच एकीकरण भएर बनेको नेकपासँग पहिलो पटक यसरी विदेशी कम्युनिस्ट पार्टीले औपचारिक सम्झदारी गरेको हो ।
सोमबारदेखि राजधानीमा नेकपा र चिकपाबीच विचारधारात्मक विषयमा सघन छलफल एवं अन्तर्क्रिया चलिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले अँगालेको ‘सी विचारधारा’ र नेपाल कम्युनिस्ट पार्टीले आफ्नो कार्यनीतिका रूपमा अघि सारेको ‘जनताको जनवाद’ बारे दुई पार्टीबीच काठमाडौंमा छलफल चलिरहेको हो ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको आसन्न नेपाल भ्रमणअघि भएको दुई पार्टीबीचको विचारधारात्मक छलफल र औपचारिक समझदारीलाई अन्तर्राष्ट्रिय समुदायले समेत अभिरुचिपूर्वक हेरिरहेको बताइएको छ ।
समझदारीका ६ बुँदा यसप्रकार छन्–
१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३. पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन