newskoseli.Com

चाडपर्व सडक सुरक्षा : ‘र्‍याकर’, स्वयंसेवकदेखि ‘ओभरटेक’ निषेधसम्म

चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । चाडपर्वका बेला घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी तथा सार्वजनिक सवारी साधन बिहान, दिउँसो, साँझ र राति गरी चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।

सवारी साधन विशेष जाँचका लागि ४ सय ३० जनशक्ति थप गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । ‘हाल ३ सय ६८ स्थानमा नियमित जाँचका लागि ७ सय ५० जनशक्ति परिचालन गरिएकामा चाडपर्वलाई लक्षित गरेर ४ सय ३० जनशक्ति थप गरेका छौं’– उनले भने ।

चाडपर्वको समयमा ट्राफिक प्रहरीले नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको छ । दसैं मान्न झन्डै २५ लाख यात्रु बाहिरिने भएकाले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन यातायात व्यवसायी गम्भीर भएर लागेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

जाँचका क्रममा मादक पदार्थ सेवन गरे–नगरेको, लामो दुरीका सवारी साधनमा दुई चालक भए–नभएको, सवारी साधनभित्र भाडादर राखे–नराखेको, मोटरसाइकल चालकले हेल्मेट प्रयोग गरे–नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे–नराखेकोलगायतका कुरा ट्राफिक प्रहरीले हेर्नेछन् । चाडपर्वको समयमा तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई समेत कारबाही गर्ने महाशाखाले जनाएको छ ।

यसैगरी, चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको यात्रु सहायता कक्षमा समेत ट्राफिक प्रहरी खटाइने महाशाखा प्रमुख ढकालले बताए । नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण समेत गरिने भएको छ । यान्त्रिक परीक्षणसँगै चाडपर्वको समयमा हुने दुर्घटनामा कमी आउने नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर बताउँछन् ।

‘नयाँ बसपार्कबाट छुट्ने अधिकांश सार्वजनिक सवारी साधनलाई परीक्षण गरेर उपत्यका बाहिर पठाउँछौं’– उनले भने । यात्रु, चालक तथा सहचालकलाई लक्षित गरेर सवारी साधन छुट्नुभन्दा अगाडि संस्कार समाज नेपालको सहकार्यमा महाशाखाले निर्माण गरेको जनचेतनामूलक अडियोको एक हजार थान पेनड्राइभ वितरण गरिने महाशाखाले जनाएको छ ।

सार्वजनिक सवारी साधनमा असल संस्कारसम्बन्धी जनचेतनामूलक अडियो वितरण गरेसँगै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले बताइन् । चाडपर्वको समयमा थानकोट–नागढुुङ्गा सडकखण्डमा सवारी चलाउँदा ओभरटेक गर्न नपाइने समेत व्यवस्था गरिएको छ ।

विगतमा जस्तै चाडपर्वको समयमा कलङ्की–नौबिसे सडकखण्डमा सवारी साधन बिग्रेर घन्टौंसम्म जाम हुने परिपाटीको अन्त्यका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट ‘र्‍याकर’ (बिग्रेका सवारी तान्ने साधन) को व्यवस्था गरिदिएका छन् । यसको मद्धतबाट कुनै पनि सवारी साधन बिग्रेमा तत्काल तानेर बाटो खुलाउन सकिन्छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउन महाशाखाले आइतबारदेखि ५ सय ट्राफिक स्वयंसेवक सडकमा खटाएको छ । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा स्वयंसेवक परिचालन गरेको हो, जसले गर्दा चाडपर्वका बेला यातायात व्यवस्थापनमा सहजता हुने विश्वास महाशाखाले लिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर